/ सूचना समाचार

सम्माननीय प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूबाट सातौँ उद्योग दिवसको उपलक्षमा प्रदान गरिएको शुभकामना सन्देश

उद्योग विभाग २०७८ मंसिर ९ गते बिहीबार १०:२१:३९ बजे

काठमाडौ, नेपाल

प्रधानमन्त्री

शुभकामना

"स्वदेशी उद्यम र उत्पादन: दिगो औद्योगिक पुनरुत्थान" भन्ने नाराका साथ आयोजना हुन गइरहेको सातौँ उद्योग दिवसको अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, लगानीकर्ता, श्रमिक एवं उद्योग क्षेत्रसँग आवद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुलुकको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा उद्योग व्यवसाय क्षेत्रको महत्त्वपूर्ण योगदान रहँदै आएको छ। स्वदेशी तथा आयातित कच्चा पदार्थहरूको प्रशोधन र मूल्य अभिवृद्धि गरी वस्तु तथा सेवाको उत्पादन, रोजगारी सिर्जना, निकासी प्रवर्द्धन जस्ता कार्यहरूमार्फत मुलुकलाई आर्थिक विकासको मार्गतर्फ डोऱ्याउन उद्योग क्षेत्रले महत्त्वपूर्ण संवाहकको भूमिका निर्वाह गरिरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान रहेको उद्योग व्यवसाय क्षेत्रको दिगो र गुणात्मक विकासले मात्र उच्च आर्थिक वृद्धिदर हासिल गर्न सम्भव हुने हुँदा उद्यमशीलता प्रवर्द्धन, औद्योगिक उत्पादन वृद्धिका साथै कोभिड-१९ बाट प्रभावित उद्योग क्षेत्रको पुनरुत्थान गर्न आज ध्यान केन्द्रित गर्नुपर्ने भएको छ ।

आर्थिक विकासका लागि उद्योगधन्दाको संरक्षण र प्रवर्द्धन गरी नेपाली श्रम, सीप र कच्चा पदार्थमा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिने, राष्ट्रिय हित अनुकूल आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनका क्षेत्रमा वैदेशिक पूँजी तथा प्रविधिमा लगानीलाई आकर्षित गर्दै औद्योगिक पूर्वाधार विकासमा प्रोत्साहन गर्ने नीति लिइएको छ । तीनै तहका सरकार र निजी क्षेत्रको समन्वयमा तीव्र औद्योगिक विकासको माध्यमबाट रोजगारीको सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको छ ।

दिगो एवं फराकिलो आधारसहितको औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पु-याउन निजी क्षेत्रको लगानी र व्यवस्थापनलाई प्रवर्द्धन गर्न सरकारले उत्प्रेरक तथा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा उद्योग व्यवसायको लागि आवश्यक पूँजी, प्रविधि, जनशक्ति र उपयुक्त लगानीको वातावरण सुनिश्चित गर्न सरकारले कानूनी, नीतिगत तथा संरचनागत सुधारका कार्यहरू अगाडि बढाउँदै जाने विश्वास दिलाउन चाहन्छु ।

दुई ठूला निकटतम छिमेकी मुलुकको तीव्र आर्थिक वृद्धि र विस्तारले सिर्जना गरेको अवसर, विद्युतीय ऊर्जाको उपलब्धता, लगानी मैत्री कानून एवं पूर्वाधारहरू, गैर आवासीय नेपाली र विदेशी लगानीकर्ताको लगानी प्रतिबद्धता वृद्धि जस्ता अवसरहरूलाई प्रभावकारी तवरले उपयोग गरी नेपालको औद्योगिक विकासलाई तीव्रता दिनु आवश्यक छ। अन्तमा, स्वदेशी उद्यम र उत्पादन अभिवृद्धि गर्दै उद्योग व्यवसाय क्षेत्रको पुनरुत्थानमा सरकारी, निजी, सहकारी क्षेत्र, अन्तर्राष्ट्रिय लगानीकर्ताहरु एवं आम जनसमुदायको महत्त्वपूर्ण योगदानको अपेक्षा सहित सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

९ मंसिर, २०७८

 शेर बहादुर देउवा

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


थप सूचना समाचार